राष्ट्रीय सम्मानका साथ कान्छो सगरमाथा आरोही शम्भु तामाङकाे गरियाे अन्त्येष्टी

विश्वकै कान्छो सगरमाथा आरोही शम्भु तामाङको पार्थीव शरीरलाई बौद्ध धर्म परम्परा अनुसार हिजो सोमबार अन्त्येष्टी गरिएको छ । राष्ट्रीय सम्मानका साथ उनकै निवास महाराजगञ्जबाट स्वयम्भुसम्म शवयात्रा गर्दै अन्त्येष्टी गरिएको हो ।

लिसंखु पाखर गाउँपालिका वडा नं. २ ह्रिस्योङगोमा जन्मिएका तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । ७० वर्षीय तामाङ गएको असार २३ गते विहीवारका दिन ललितपुर स्थित हरीसिद्धि क्यान्सर अस्पतालमा उपचारकै क्रममा विहान १० बजे निधन भएको थियो ।

उनको अन्त्येष्टीमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण समेत गरेका थिए । साथै नेपाल प्रहरीको तर्फबाट सलामी मार्फत सम्मान पनि गरेका थिए ।

अन्त्येष्टी कार्यक्रममा पूर्व सुचना तथा सञ्चार मन्त्री नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्तेत, वागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा माओवदी केन्द्रका नेता युवराज दुलाल, माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष युवा नेता सरल सहयात्री पौडेल, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मीठु देवी लामा साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

तामाङले वि.सं २०३० साल वैशाख २३ गते अर्थात सन् १९७३ मे ५ तारिखका दिन २ जना इटालियनको साथमा सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणको क्रममा तामाङको उमेर १७ वर्ष ६ महिना १५ दिनको रहेको परिवार स्रोतले बताए ।

गोरखा दक्षिणबाहु पदकले पहिलो पटक विभुषित तामाङ समाजसेवी, मिलनसार र सादा जीवन उच्च विचार भएका व्यक्ति थिए । तामाङ तीलगंगा आँखा अस्पतालका संस्थापक सदस्य समेत हुन् । हाल उक्त अस्पतालको आँखा बैंकका कोषाध्यक्ष समेत थिए । उनी नेपाल पर्वतारोहण संघको संस्थापक सदस्य पनि हुन् ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *