क्षितिज खबर संवाददाता, काठमाडौ।
आफ्नै देशमा केही गरौं भन्ने उदेश्य भएका लिसंखु पाखरका उद्यमशिल नागरिकहरुले अब भने नेपाल बैंक लि. बाट सजिलै तरिकाले ऋण पाउने भएका छन् ।
उद्यमशिल नागरिकलाई ऋण दिने विषयमा लिसंखु पाखर गाउंपालिका र नेपाल बैंक लि. बीच सम्झौता भएको हो।
गाउँपालिकाले संचालन गर्न लागेको ‘अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम’ले गाउँपालिकाबासीहरुलाई व्यावसायिक कृषि तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामुलक उद्यम व्यवसाय लगाएतका अन्य पहिचान गरिएका क्षेत्रहरुमा बैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकहरुलाई उद्यम व्यवसायमा आर्कषित गर्न, गाउँपालिकाबासीहरुलाई स्वरोजगार, व्यावसायीक एबं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासकालागी आवश्यक सहयोग प्रदानगरी गाँउपालिकाको बिषेशतामा आधारित लघु, घरेलु, साना एबं मझौला व्यवसायहरुको बिकास एबं प्रबद्र्घन गर्न सहयोग पुग्ने भएको छ ।
उक्त गाउँपालिका क्षेत्रका गाउँपालिकाको अध्यक्ष उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँबासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागी ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्धन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत प्रदानगरी उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले लिसंखु पाखर गाउँपालिका र नेपाल बैँक लिमिटेड बीच उक्त सम्झौता भएको हो ।
गाउँपालिकाद्वारा एक कोष खडागरी नेपाल बैंक लि पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दैजाने, बैंकद्वारा छनौट भएका उद्यमी एवं व्यवसायीहरुलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र उक्त कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्नेछ ।
उपरोक्त संझौतामा नेपाल वैंक लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा लिसंखु पाखर गाउँपालिकाको तर्फबाट उक्त गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपालबाट हस्ताक्षर गरिएको थियो ।