काठमाडौँ — नेपालले एसिया कप छनोट तेस्रो चरणको आफ्नो पहिलो खेलमा जोर्डनको सामना गर्दैछ । कुवेतमा हुने खेल नेपाली समयअनुसार बुधबार राति एक बजे सुरु हुनेछ । जाबिर अल अहमद स्टेडियममा हुने छनोटका खेल नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भविष्य पनि निर्धारण गर्नेछ । मुख्य प्रशिक्षक र १० खेलाडीबीचको विवादको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।

यही विवादलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको छानविन आयोजकले मुख्य प्रशिक्षक अल्मुताइरीको भविष्यबारे सोच्न भनिसकेको छ । अल्मुताइरी आफै भने आफू र टिममाथि कुनै दबाब नरहेको बताउँछन् । खेल अगाडि कुवेतमा आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले नेपालले विना कुनै दबाब खेल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामीलाई दबाब छैन् । छनोटको यस समूहका चार टिममध्ये हामी चौथो पटमा परेको टिम हौं । यो खेल नेपाल आफ्नै लागि भने निकै महत्त्वपूर्ण छ । हामीले उत्कृष्ट नतिजाका लागि प्रयास भने गर्नेछौं ।’ नेपालले यो खेलपछि आयोजक कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

प्रशिक्षक अल्मुइतारीले नेपालका लागि एसियाकप छनोट भन्दा विश्वकप छनोटमा आफ्नो नजर रहेको बताउँदै आएका छन् । उनले वर्तमान टिम युवा रहेको र यस टिमलाई निरन्तरता दिन सके यसको भविष्य राम्रो हुने बताउँदै आएका छन् । तर छनोटमा नेपालको प्रदर्शन खराब रहे, यो नै नेपालका लागि उनको अन्तिम प्रतियोगिता हुन सक्नेछ ।

राम्रो प्रदर्शनका लागि प्रयास

गोलरक्षक तथा नियमित कप्तान किरण लिम्बूसहित अन्य प्रमुख खेलाडीको अनुपस्थितिमा नेपाली टिम केही कमजोर रहेको छ । प्रमुख खेलाडीकै अनुपस्थितिका कारण कुवेतविरुद्धको खेलमा केही खेलाडीले नेपालका लागि डेब्यु गर्ने निश्चित छ । यसै खेलमा नवयुग श्रेष्ठले पहिलो पल्ट नेपालको नेतृत्व गर्नेछन् ।

उनले पनि पत्रकार सम्मेलनमा आफ्ना सबै खेलाडीले सक्दो राम्रो प्रदर्शनका लागि प्रयास गर्ने बताएका छन् । उनले भनेका छन्, ‘विश्वकप छनोटमा हामीले यस अगाडि जोर्डनको सामना गरिसकेका छौं र यो बलियो छ । तर आज रातिको खेलमा हाम्रा खेलाडीले आफूले सक्दो राम्रो खेल्न प्रयास गर्नेछन् ।

जोर्डनविरुद्धका चार भेट

नेपाल र जोर्डनबीच अहिलेसम्म चार खेल भएका छन् र त्यसमा जोर्डन तीन पल्ट विजयी रहेको छ भने एक खेल बराबरीमा टुंगेको छ । नेपालले सबै भन्दा पहिले सन् २०११ मा विश्वकप छनोट अन्तर्गत जोर्डनको सामना गरेको थियो । पहिलो लेगको त्यस खेलमा नेपाल ९–० ले पराजित रह्यो ।

त्यसपछि काठमाडौंमा भएको दोस्रो लेगको खेलमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । सन् २०१९ मा पनि विश्वकप छनोटमै नेपाले तेस्रो पल्ट जोर्डनको सामना गरेको थियो । त्यसमा नेपाल ३–० ले पराजित रह्यो । त्यही विश्वकप छनोटको चौथो खेलमा नेपाल फेरि ३–० ले पराजित भएको थियो ।

Source:ekantipur.com

0Shares