काठमाण्डौ । सानै उमेरमा विश्वको उच्च शिखर सगरमाथा आरोहण गरी गिनीज बुकमा नाम लेखाउन सफल शम्भु तामाङको पार्थीव शरीरलाई असार २७ गते सोमबार दहसंस्कार गरिने भएको छ । अहिले तामाङको पार्थीव शरीरलाई महाराजगञ्ज स्थित उनकै निवासमा राखिएको छ ।
लिसंखु पाखर गाउँपालिका वडा नं. २ ह्रिस्योङगोमा जन्मिएका तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । ७० वर्षीय तामाङ ललितपुर स्थित हरीसिद्धि क्यान्सर अस्पतालमा गएको विहीवार उपचारकै क्रममा विहान १० बजे निधन भएको थियो ।
श्रीमती, एक छोरी र एक छोरा रहेका तामाङले वि.सं २०३० साल वैशाख २३ गते अर्थात सन् १९७३ मे ५ तारिखका दिन २ जना इटालियनको साथमा सगरमाथा आरोहण गरेका थिए । सगरमाथा आरोहणको क्रममा तामाङको उमेर १७ वर्ष ६ महिना १५ दिनको रहेको परिवार स्रोतले बताए । उनी विश्वकै कान्छाे सगरमाथा आराेही हुन् ।
समाजसेवी, मिलनसार र सादा जीवन उच्च विचार भएका तामाङ तीलगंगा आँखा अस्पतालका संस्थापक सदस्य समेत हुन् । हाल उक्त अस्पतालको आँखा बैंकका कोषाध्यक्ष समेत थिए । उनी नेपाल पर्वतारोहण संघको संस्थापक सदस्य पनि हुन् ।
गोरखा दक्षिणबाहु पदकले तामाङ पहिलो पटक विभुषित भएका थिए । शोक वक्तव्य जारी गर्दै ह्रिस्याङ्गो सेवा समाजले उनको पार्थीव शरीरलाई राष्ट्रिय सम्मानका साथ सरकारले अन्तेष्टी गरियोस र उनको स्मृति स्वरुप काठमाण्डौमा शालिक निर्माण गरोस भन्ने चाहना उल्लेख गरिएको छ ।
तामाङको पार्थीव शरीरलाई बौद्ध धर्म परम्परा अनुसार असार २७ गते सोमबार विहान १० बजे आप्mनै निवास महाराजगञ्जबाट स्वयम्भुमा शवयात्रा गरिने परिवार स्रोतले जनाएका छन् ।