कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।                        हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाए । हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन गरेका थिए भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२२९७ मतान्तरले पराजित गरेका हुन् । ०७४ को निर्वाचनमा वडसँग हमाल २७९७ मतले पराजित भएका थिए ।                                                                  देउवा पत्नी तथा काँग्रेस नेतृ डा. आरजु राणाको निर्वाचन क्षेत्र रहेको हमालको जित संघीय चुनावका लागि थप चुनौती बनेको छ । राणा गत निर्वाचनमा एमाले उम्मेदवार नारदमुनी रानासँग पराजित भएकी थिइन् ।                                                              गत निर्वाचनमा मेयर उपमेयर जितेको काँग्रेसले यसपटक दुवै पद गुमाएको छ । उपमेयरमा गठबन्धनलाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी भएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बनेकी छन् ।

0Shares