२७ पुष २०८० काठमाडौ ।
सिन्धुपाल्चोक लिसंखुपाखरस्थित वडा नं. १ टनममा निर्माण सम्पन्न ओर्ग्येन थेगसुम छ्योइलिङ तामाङ गोन्पाको प्राण प्रतिष्ठा (ह्राब्ने) कार्यक्रम तय भएको छ ।
माघ ५ र ६ गते टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठानसहित ह्राब्ने गर्ने भएको हो ।
गोन्पाका अध्यक्ष रेन्जेन लामाका अनुसार करिब २ करोड लागतमा निर्माण सम्पन्न भएको गोन्पाको ह्राब्ने गरेर सञ्चालनमा ल्याउन लागेको बताए ।
‘गोन्पा निर्माणका लागि यहाँहरूले गरेको सहयोग सराहनीय छ‚’उनले भने‚ ‘तपाइहरूको सहयोग र मेरो अपेक्षाअनुसार गोन्पा बनेको छ । ह्राब्नेपछि सबैको लागि खुल्ला गरिएको छ ।’
गोन्पा सञ्चालनमा आएपछि वरिपरि लाभान्वित समुदायका लागि अति उपयोगी हुने अध्यक्ष लामाले बताए ।
टनम योन्जनहरुको बाब्सा (थातथलो) पनि भएकोले गोन्पा बन्नु सराहनीय कार्य भएको लिसंखुपाखर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पासाङलाल लामाले बताए ।
अध्यक्ष लामाका अनुसार २०७२ सालदेखि निर्माणाधीन गोन्पा करिब ८ वर्षपछि सम्पन्न भएको बताए । उनले सम्पूर्णलाई ह्राब्नेमा उपस्थित हुन अनुरोध समेत गरेका छन् ।