काठमाडौँ — काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।
काठमाडौँ महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् ।
अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक रहेका छन् । साहले ५४ हजार २ सय १३ मतसहित फराकिलो अग्रता कायम राखेका हुन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३४ हजार १८० मतका साथ पछ्याई राखेकी छिन् भने एमालेका उम्मेदवार केशव स्थापित ३३ हजार ६ सय ९ मतसहित तेस्रो स्थानमा छन् ।