काठमाडाै । आज बिहान करिब १० बजेदेखि कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।
कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।
पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएका युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई नि:शर्त रिहा गर्नुपर्ने, चलचित्रमा भएकाे लामा भेषकाे दृश्य काट्नुपर्ने माग राखेका छन्।
प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए। हाल त्यहाँ ६०-७० जना व्यक्तिहरू भेला भएको प्रहरीले जनाएको छ।
तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।