काठमाडौँ — अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ । विवाद चर्कंदै जाँदा फिल्म कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा पिन्त्सोले भने, यदि रिलिज भएको खण्डमा सबै लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवार हामी हुनेछैनौं । उनले फिल्मलाई नहेरिदिन समेत आग्रह गरे । वास्तवमा बौद्ध धर्म र भिक्षुलाई अन्याय भएको छ । यस विरुद्ध सबैले आवाज उठाउनु जरुरी छ, उनले भने, ‘नेपालमा समेत विवाद समाधान हुनुपर्ने हाम्रो आग्रह छ । कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए । जुन रुपमा लामाको क्यारेक्टर चित्रण गरिएको छ । त्यो पूर्ण रुपमा गलत छ, उनले भने ।
सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुव्र्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् । उनको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो र दुवैले सहमतिपत्रमा हस्ताक्षर पनि गरे ।
त्यसपछि पनि आरोप (प्रत्यारोप रोकिएको छैन । मिरुनाले आफूले गल्ती नगरेको बताएकी छन् भने फुर्वाले पनि गल्ती नगरेको दावी गरेका छन् । सामाजिक सञ्जालमा आरोप(प्रत्यारोप पनि रोकिएको छैन । सिक्किम सहित भारतका १५ सहरमा ‘कबड्डी ४ लाई प्रदर्शन गर्ने तयारी छ । तर बौद्ध समुदायको विरोधपछि भने फिल्मलाई चुनौती थपिएको छ । फिल्मका निर्माता मणिराम पोखरेलले सिक्किममा सिर्जना भएको विवादलाई समाधान गर्न प्रयास भइरहेको बताए ।