१३ वैशाख, सिन्धुपाल्चाेक । वैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनको लागि लिसंखु पाखर गाउँपालिकामा अध्यक्ष पदको निमित्त युवा नेता राजु लामाले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्षमा भने राममाया तामाङले उम्मेदवारी दर्ता गरेकी छन् ।
निकै तामझामका साथ नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागितामा नेता लामा र तामाङले उम्मेदवारी दर्ता गरेका थिए । पञ्चे बाजा सहित गाउँपालिकाको कार्यालय क्षेत्रबाट शुरु गरिएको र्यालीमा निकै उत्साहजनक सहभागिता देखिएको थियो । उक्त र्यालीलाई आकाशबाट समेत दृश्य लिने गरी दुई वटा ड्रोन क्यामेराको प्रयोग गरिएको थियो । साथै विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।
जिल्लाको लिसंखु पाखर गाउँपालिका नेकपा माओवादी केन्द्रको राम्रो पकड मानिएतापनि गएको निर्वाचनमा थोरै मत अन्तरले हार बेहोर्नुपरेको थियो । यो पटक भने जीत हात पार्ने अठोटका साथ सिंगो पालिकाका पार्टी कमिटिका नेता एवम् कार्यकर्ताहरु लागी परेका छन् ।
२०७४ सालको निर्वाचनमा कमल नेपालसंग ३० मतले हार बेहोरेका नेता लामा यस पटक भने बलियो आधार बनाएर उभिएको छ । शिक्षक पेशाबाट राजीनामा दिएर कलिलै उमेरमा राजनीतिमा होमिएका नेता लामा जनताले रुचाएका र यस क्षेत्रको आम युवाहरुको नेताको रुपमा लिईन्छ । नेता लामाको नाम सिफारिस भएसंगै पार्टीका आम युवा कार्यकर्ताहरु खुसीका साथ एक भएर हिँडिरहेका छन् । यस क्षेत्रमा आसा लाग्दो युवाको रुपमा नेता लामालाई लिएको छ । राजनीतिमा होमिनु पूर्व नेता लामा यस गाउँपालिका अन्तर्गतको वडा नं. २ लिसंखु स्थित नारगाउँमा रहेको जनसहयोग माविको प्रधनाध्यापक हुन् । उनी यस क्षेत्रमा गणित विषयको राम्रो शिक्षकको रुपमा आफुलाई चिनाउन सफल भईसकेको व्यक्ति हुन् ।
त्यस्तै गरी उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी तामाङ विभिन्न गैर सरकारी संस्थाहरुमा आवद्ध भई लामो समय सम्म समाजमा घुलमिल भएकी र सहकारी क्षेत्रको उदयमान नारी हुन् । उनी पत्रकारिता क्षेत्रमा समेत अनुभवी नारी हुन् ।
पार्टीले दुवै जना उम्मेदवार शिक्षित र युवा पंक्तिबाट छानिएकोमा जीत हुने आसाका साथ आम नेता तथा कार्यकर्ताहरुले खुशी व्यक्त गरेका छन् ।